Sunday, April 19News That Matters

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

काठमाडौं । बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरूपका रुपमा लिइछ ।

सेतो कपडा लगाएकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नाले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ । यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ ।

शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापुजाका लागि दुई वर्षसम्मका बालिकाहरू योग्य रहेको मानिन्छ । यद्यपि, रजस्वला हुनु पूर्वका बालिका पनि कन्या पूजाका लागि योग्य भएको मान्यता रहेकाे छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।