Saturday, April 18News That Matters

भारतले विना सूचना विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गयो

महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका-२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो ।

हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनकाे खुट्टामा चोट लागेकाे र अहिले जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउँदा घटना भएको हो ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम गर्न नपाइने र विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्ने नियम छ । तर, हिजो भारतले सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा सूचना नै नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारत पिथौरागढ जिल्लाको धार्चुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखनपुर क्षेत्रमा सडक चौडा गर्ने क्रममा भारतीय पक्षले विस्फोट गराएको हो ।