पेट्राेल , डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्याे ( प्रेस विज्ञप्ति सहित )

निराज रानाभाट , काठमाडौं : सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आइतबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे ।

निगमले पेट्रोल , डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ / ३ रुपैयाँका दरले घटाएकाे छ । यस्तै , आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश: २० र ३० रुपैयाँले घटेकाे निगमले विज्ञप्तिमार्फत जनाएकाे छ । याेसँगै अब पेट्राेल प्रतिलिटर १ सय ७५ रुपैयाँ कायम भएकाे छ , भने डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७२ रुपैयाँ कायम भएकाे छ ।

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४ सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेकाे छ ।

यसअघि भारतले पेट्राेलियम पदार्थकाे मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएकाे भन्दै उपभाेक्ताले विराेध गर्दै आएका थिए । गएकाे बिहीबार प्रधानमन्त्रीले पेट्राेलियम पदार्थकाे मूल्य घटाउन निर्देशन दिए पनि निगमले भने अाइतबार ( आज ) मूल्य घटाएकाे हाे ।